शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा सबै सरोकारवालाहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अपिल

“हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा”

शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा सबै सरोकारवालाहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अपिल

आदरणीय अभिभावकज्यूहरु,

हरेक बालबालिकाहरूको पढ्न पाउने हकको सुनिश्चितताका लागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने गरी मौलिक हकको रूपमा स्थापित गरेको छ । विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा प्राथमिक उमेर समूह (५–९ वर्ष ) का विद्यार्थीको खुद भर्ना दरको राष्ट्रिय औसत ९७.२% रहेको हुँदा २.८% बालबालिकाहरू अझैं पनि विद्यालयबाहिर रहेको देखिन्छ । त्यसै गरी आधारभूत तह (कक्षा १–८) को (५–१२ वर्ष उमेर समूहको) खुद भर्ना दर राष्ट्रिय औसत ९२.३% पुगेको  अवस्था छ, जस्मा ७.७% बालबालिकाहरू विद्यालयबाहिर रहेको देखिन्छ । त्यसमा पनि सर्लाही, धनुषा, रौतहट, पर्सा, वारा र कपिलवस्तु लगायतका केही जिल्लाहरूमा सबै भन्दा बढी बालबालिकाहरू विद्यालयबाहिर रहेको अवस्था छ । विद्यालय शिक्षामा सबै बालबालिकाहरूको समन्यायिक पहुँच पु¥याउनु राज्यको दायित्व हो । विद्यार्थी भर्ना, विद्यालयमा स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार जस्ता कार्यक्रमहरू विगत वर्षहरूदेखि नै सञ्चालन हुँदै आएको कुरा विदितै छ ।

यसै सन्दर्भमा केही हिमाली जिल्ला बाहेकका अन्य जिल्लाहरूमा २०७५ साल बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदैछ । विद्यार्थी भर्ना अभियानलाई सफल पार्न व्यापक रूपमा प्रचार प्रसार गर्ने, विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गर्ने एवम् घरदैलो जस्ता सचेतनामूलक कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरी आ–आफ्नो क्षेत्र, जिल्ला, गाउँपालिका, नगरपालिका एवम् विद्यालय तहसम्म विद्यालय जाने उमेर समूहका कोही पनि बालबालिका नछुट्ने गरी विद्यालयभित्र ल्याउने प्रतिबद्धता सहितको घोषणा गर्न अनुरोध गरिएको छ ।

साथै उनीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना हुँदाका बखत नै उपलब्ध गराउनका लागि स्थानीय तहमार्फत विद्यालयहरुमा रु २ अर्व २२ करोड २२ लाख अनुदान रकम उपलब्ध गराइसकिएको छ । सोही क्रममा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकाहरुका लागि रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।

यसै सिलसिलामा यस मन्त्रालयबाट नयाँ शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना कार्यक्रमको आदर्श वाक्य “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” तय गरी प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालन गरिएको छ । जसबाट अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तुत परिस्थितिमा विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका सबै बालबालिकाहरूलाई विद्यालयमा सहज पहुँचको सुनिश्चितताका लागि विद्यार्थीे भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा सहयोग पु¥याउन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घ, उद्योगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, सरकारी एवम् गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मी, रङ्गकर्मी, कलाकर्मी, प्राध्यापक, शिक्षाविद् एवम् स्थानीय तह, प्रदेश तह, सम्बन्धित मन्त्रालय÷निकाय एवम् राजनीतिक दल लगायतका सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अपिल गर्दछु ।

माननीय गिरिराजमणि पोखरेल
मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौँ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *